
नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पार्टी एकता र १२औँ महाधिवेशनको मिति घोषणा गर्न धर्ना दिएका छन्। कार्यकर्ताहरूले पार्टी कार्यालयमा प्लेकार्ड टाँसेर नेतृत्वलाई पार्टी एकता र महाधिवेशन सुनिश्चित गर्न ध्यानाकर्षण गराएका थिए। नेविसंघलाई निष्क्रिय नराखी समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने माग गरिएको छ। १० जेठ, काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई सक्रिय बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन्। कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्ष बाहिर प्लेकार्ड टाँसेर ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’, ‘युवालाई काउबअभ देऊ, पार्टीलाई उबअभ देऊ’ लगायतका नाराहरू सहित नेतृत्वको ध्यानाकर्षण गराएका थिए। धर्नामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ गर्नुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै सुरु हुनुपर्ने बताएका छन्। उनीहरूले गुट–उपगुटभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने भाव व्यक्त गरेका थिए। नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नहुने उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन्।
