
१२ जेठ, जनकपुरधाम। मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट नेपाली कांग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोधेको जंगीलाल रायलाई हटाइएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज गरेको मन्त्री परिषद् पुनर्गठन र विस्तारको क्रममा रायलाई पदमुक्त गरिएको हो। रायको स्थानमा कांग्रेसका नरेन्द्र साहलाई स्वास्थ्य मन्त्री नियुक्त गरिएको छ। साह रौतहटबाट निर्वाचित सांसद हुन्। उनले आजै नवनियुक्त मन्त्रीहरूसँगै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। चुनावमा धाँधली गरेको आरोपका कारण केही समयअघि मात्र मन्त्री रायलाई कांग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो।
