Skip to main content

विजय बरालको ‘जिरो डिग्री’ तिहारमा प्रदर्शन हुने, पहिलो झलक सार्वजनिक

काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण गरिएको ‘डार्क कमेडी’ फिल्म ‘जिरो डिग्री’ को प्रदर्शन मिति तय गरिएको छ। निर्माताले बिहीबार पहिलो झलक सार्वजनिक गर्दै तिहारमा यो फिल्म प्रदर्शन हुने जानकारी दिएका छन्। पहिलो झलकले दर्शकहरूको चासो बढाएको छ, जसमा अभिनेता विजय बराललाई ‘पुण्य चौलागाईं’ नामक वडाध्यक्षको रूपमा फरक र रोचक अवतारमा प्रस्तुत गरिएको छ। फस्टलक भिडियोमा पृष्ठभूमिबाट गुन्जिने ‘जहाँ समस्या त्यहाँ पुन्य चौलागाईं’ भन्ने संवाद र लगत्तै पुन्यको ‘यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो’ भन्ने संवादले उनी गाउँको एक चतुर जनप्रतिनिधि हुन् भन्ने प्रष्ट देखिन्छ।

बाक्लो जुँगा, चस्मा, ढाकाटोपी र सुटमा सजिएका विजयको एक दृश्य निकै प्रतीकात्मक र व्यंग्यात्मक छ। ‘पुन्य चौलागाईं वडा अध्यक्ष’ लेखिएको नेमप्लेट अगाडि बसेर उनले पैसा बुझिरहेका (लेनदेन गरिरहेका) देखिन्छन्, तर विडम्बनापूर्ण रूपमा, उनको पछाडि भित्तामा टाँसिएको बोर्डमा ठूला अक्षरमा ‘भ्रष्टाचारलाई रोकौँ!’ लेखिएको छ। यसले फिल्मले नेपाली राजनीतिको यथार्थ र नेताको दोहोरो चरित्रलाई डार्क कमेडी मार्फत कसिलो व्यंग्य गरेको संकेत गर्छ।

त्यसैगरी, वडाध्यक्ष चौलागाईं सेतो घोडामा चढेर हातमा दुईवटा स्ट्यान्ड फ्यान बोकेको दृश्य र गाउँलेले पहाडी बाटोमा ठूलो काठको बाकस बोकेर हिँडिरहेको दृश्यले कथालाई थप रहस्यमयी र गहिरो बनाएको छ। फिल्मको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान फर्किन नसक्ने अवस्था र शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आउने उथलपुथल र रमाइला घटनामा केन्द्रित छ। भिडियोमा गाउँलेले बोकेको काठको बाकस भित्र ‘डीप फ्रिज’ रहेको सहजै अनुमान गर्न सकिन्छ। अघिल्लो फिल्म ‘बेहुली फ्रॉम मेघौली’ निर्माण तथा निर्देशन गर्ने जोडी सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन एवं पटकथा रहेको छ। कास्कीको धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर लगायत रमणीय स्थानहरूमा छायांकन गरिएको यो फिल्ममा प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइलीको अभिनय रहेको छ।