म्यानचेस्टर सिटीबाट सर्वाधिक १९ खेलाडी विश्वकपमा, अन्य रोचक तथ्यहरू फिफा विश्वकप २०२६ संग सम्बन्धित

फिफाले सन् २०२६ को विश्वकपका लागि ४८ देशका १,२४८ खेलाडी समावेश गरेको आधिकारिक सूची सार्वजनिक गरेको छ। अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआ छैटौं पटक विश्वकप टोलीमा छनोट भएका छन्। यस विश्वकपमा इंग्ल्यान्डका क्लबहरूबाट सबैभन्दा धेरै २०० खेलाडी र म्यानचेस्टर सिटीबाट सर्वाधिक १९ खेलाडीले प्रतिनिधित्व गर्दैछन्। २१ जेठ, काठमाडौं – आगामी जुन ११ देखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुन लागेको फिफा विश्वकप २०२६ को लागि सबै सहभागी राष्ट्रको अन्तिम टोली सार्वजनिक भइसकेको छ। फिफाले जुन २ मा ४८ टोलीहरूको आधिकारिक सूची सार्वजनिक गर्यो। प्रत्येक टोलीमा २६ खेलाडी छन् र यस विश्वकपमा कुल १,२४८ खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन्।
विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट बढेर ४८ पुगेपछि खेलाडीहरूको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। अन्तिम टोली सूची सार्वजनिक भएपछि विश्वकप खेल्न आउने टोलीका केही विशेषताहरू यस प्रकार छन्: इंग्ल्यान्डका क्लबहरूमा खेलिरहेका २०० खेलाडी विश्वकपका विभिन्न टिममा समावेश छन्। त्यस्तै जर्मनीका क्लबबाट १०९, फ्रान्स र स्पेनका क्लबबाट समान रूपमा ८६, इटलीबाट ७१, साउदी अरेबियाबाट ४९, टर्कीयाबाट ४५, अमेरिकाबाट ४२, नेदरल्यान्ड्सबाट ४६, ब्राजिल र पोर्चुगलबाट ३६-३६ खेलाडी रहेका छन्।
स्कटल्यान्डका गोलकिपर क्रेग गोर्डन विश्वकप टोलीमा समावेश सबैभन्दा वृद्ध खेलाडी हुन्। उनले आउटफिल्ड खेलाडीहरू मध्ये सबैभन्दा वृद्ध भएर विश्वकप खेल्ने अवसर पाउनेछन्। इजिप्टका गोलकिपर एसाम अल हाडारीले सन् २०१८ मा ४५ वर्षको उमेरमा विश्वकप खेलेका थिए। ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि विश्वकप खेल्ने चौथो सबैभन्दा वृद्ध खेलाडी बन्ने क्रममा छन्। २२ खेलाडीले पहिले पनि फिफा विश्वकप जितिसकेका छन् र उनीहरू सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने टोलीमा छन्।
म्यानचेस्टर सिटीबाट सर्वाधिक १९ खेलाडीलाई विश्वकपका लागि छनोट गरिएको छ। यी खेलाडीहरू अल्जेरिया, बेल्जियम, क्रोएशिया, इजिप्ट, इंग्ल्यान्ड, फ्रान्स, घाना, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्पेन र उज्बेकिस्तानका राष्ट्रिय टिमहरूमा छनोट भएका छन्। मेक्सिकोका १७ वर्षीय गिब्लर्टो मोरा यस विश्वकपमा समावेश सबैभन्दा कान्छा खेलाडी हुन्। अर्जेन्टिनाका लियोनेल मेसीले विश्वकपमा हालसम्म सर्वाधिक १३ गोल गर्दै आएका छन् र आगामी विश्वकपमा बढी गोल गर्ने लक्ष्यमा छन्।





