
२२ जेठ, काठमाडौँ। सरकारले पहिलो बार खुल्ला प्रतिस्पर्धाद्वारा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएपछि लगभग तीन हजार आवेदन प्राप्त भएका छन्। परराष्ट्र मन्त्रालयले जेठ १४ देखि २२ गतेसम्म आवेदन आह्वान गरेको थियो। यस अवधिमा अनलाइन, इमेल तथा भौतिक माध्यमबाट ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। हाल ३४ देशमा नेपाली राजदूतावास सञ्चालनमा रहेका छन्। तीमध्ये १७ देशमा राजनीतिक नियुक्तिको माध्यमबाट र बाँकी १७ देशमा परराष्ट्र मन्त्रालयका कर्मचारी पठाउने गरिन्छ। तीमध्ये १७ देशका राजदूत पदहरू हाल खाली रहेका छन्।
सरकारले १३ देशका लागि नाम तोकेर आवेदन आह्वान गरेको थियो भने इच्छुकले अन्य देशका लागि पनि नाम उल्लेख गरी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। पूर्व सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक नियुक्ति प्राप्त १० देशका राजदूतहरू फिर्ता बोलाएको थियो। त्यसपछि बालेन्द्र शाह नेतृत्वको सरकारले ती राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई पदमुक्त गरेको थियो। राजदूत पद खाली भएपछि सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको हो।
मन्त्रालय स्रोतका अनुसार प्राप्त आवेदनमध्ये केही दोहोरिएको र केही व्यक्तिको सिफारिसका कारण आवेदन संख्या बढी देखिएको छ। सबै आवेदनहरूको पुष्टि र प्रमाणीकरणपछि वास्तविक संख्या सार्वजनिक गरिनेछ। आवेदनहरूको निश्चित विवरण तयार भएपछि मन्त्रालय आवश्यक स्क्रिनिङ प्रक्रिया पूरा गरी योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषदमा पठाउने व्यवस्था छ। मन्त्रिपरिषदले सिफारिस गरेका उम्मेदवारको संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट राजदूतको नियुक्ति हुनेछ। नियुक्तिपछि राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी सम्हाल्ने व्यवस्था पनि रहेको छ।
मन्त्रालयले ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधनसहित) अनुसार आवेदन आह्वान गरेको हो। निर्देशिका अनुसार, राजदूत बन्न कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनु पर्नेछ र मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, भ्रष्टाचार वा नैतिक पतन देखिने कुनै फौजदारी अपराधमा सजाय नलिएको, विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर वा ग्रिनकार्ड) नलिएको हुनुपर्नेछ। परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको र अंग्रेजी भाषामा राम्रो दक्षता भएको योग्यता पनि आवश्यक छ।





