हर्कको टिप्पणीः प्रधानमन्त्रीले भारतसँगको सीमा विवादमा नेपालले भूमि सुम्पिनुजस्तै बताएका छन्

२३ जेठ, पाँचथर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्रीबाटै नेपालले भारतको सीमा मिचेको भनाइ हुनु भनेको आफ्नै अरु भूमि भारतलाई सुम्पिनुजस्तै रहेको टिप्पणी गरेका छन्। शनिबार पाँचथरको जेभालेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। ‘त्यो पदमा रहेका व्यक्तिले यस्तो कुरा गर्नु हुँदैन। श्रम संस्कृति पार्टीले यस देशको अखण्डता र सीमा रक्षाको पक्षमा सदैव उभिएको छ,’ साम्पाङले भने।
साम्पाङले प्रधानमन्त्री बालेन्द्रको कडा आलोचना पनि गरे। उनले भने, ‘जो व्यक्ति केही बनाउन सक्दैन, मात्र भत्काउन जान्दछ, गरिबको घरमा डोजर हानेर जलाएको छ। त्यस्तो व्यक्तिलाई राम्रो भन्न सकिन्न।’ साम्पाङले राप्रपा तथा अन्य पार्टीहरूले राई–लिम्बु समुदायका समानुपातिक सांसद नबनाउनुको कारण पनि सोध्न आग्रह गरे। ‘घण्टी हल्लाएर आउने पार्टीले राई–लिम्बुलाई समानुपातिक सांसद नबनाउनुको कारण हामीले सोध्ने या नसोध्ने?’ उनले प्रश्न उठाए।
साम्पाङले आफूले सबै समुदायलाई समेट्ने प्रयास गरेको दाबी गरे। उनले पुराना दलहरूले ३०/३५ वर्षसम्म केवल गफ गरेर मात्र देश निर्माण नगरेको बताए। देशले श्रमलाई बेवास्ता गरेको कारण यस्तो अवस्था आएको उनी बताउँछन्। अब देश निर्माणको जिम्मेवारी श्रम संस्कृतिलाई दिनुपर्ने उनले आह्वान गरे। ‘यस पार्टीमा नेता र कार्यकर्ता हुँदैनन्, सबै श्रमदाता नै हुन्। म यही टीसर्ट लगाएर हिँडिरहेको छु,’ साम्पाङले भने। साथै, कुनै दिन त्यही टीसर्ट लगाएर संसद पुग्ने आफ्नो योजना रहेको पनि बताए।





