Skip to main content

रास्वपाको सिरहा नेतृत्वमा सहमति नपाउँदा भोलि चुनाव हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नहुन्दा नयाँ नेतृत्व निर्वाचनबाट चयन गरिने भएको छ। निर्वाचन आयोगका कार्यवाहक संयोजक डा. इन्द्रजित महतोका अनुसार भोलि बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु गरिने छ। जिल्ला सभापति पदका लागि हालका सभापति हरिप्रसाद मैनाली, सुभाषकुमार यादव र रामसौगारथ यादवबीच प्रतिस्पर्धा हुनेछ।

शनिबार बिहान ८ बजेदेखि अधिवेशनको खुला सत्र सुरु भए पनि नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको डा. महतोले जानकारी दिएका छन्। सिरहाका चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका सदस्य तथा समानुपातिक सांसद पुरुषोत्तम यादव लगायतका नेताहरूले पटक–पटक सहमतिको प्रयास गरे पनि सफल नभएपछि निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको हो।

उहाँले थपे, निर्वाचनका अधिकांश प्रक्रिया पूरा भइसकेका छन् र केवल मतदाता नामावली प्रकाशन गर्न बाँकी रहेको छ। आज रातीभित्र सबै तयारी पूरा गरेर भोलि बिहान १० बजेदेखि निर्वाचन सुरु गरिनेछ। जिल्ला सभापति पदका लागि हालका सभापति हरिप्रसाद मैनाली, युवा नेता सुभाष कुमार यादव र राम सौगारथ यादवले उम्मेदवारी दर्ता गराएका छन्। उपसभापति पदका लागि ई. अरविन्द कुमार राम, जीवछ यादव, निमा कुमारी यादव र गीता शाही चुनावी मैदानमा छन्। सचिव पदका लागि रमेश कुमार यादव, राजेन्द्र मण्डल, परीतोष कुमार यादव र अमित राज राईबीच प्रतिस्पर्धा हुनेछ। उम्मेदवारी दर्तापछि सहमतिको प्रयास जारी रहँदा पनि प्रमुख पदहरूमा एकभन्दा बढी आकांक्षी भएकाले नेतृत्व अन्ततः निर्वाचन प्रक्रियाबाट चयन गरिने भएको छ।