
२६ जेठ, काठमाडौं । काठमाडौंमा अनलाइनमार्फत यौनधन्दा सञ्चालन गर्ने गिरोहका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। वाट्सएप, फेसबुक लगायत सामाजिक सञ्जालहरू मार्फत ग्राहक खोजी गरी विभिन्न होटलमा भेट गरेर यौनजन्य गतिविधिमा संलग्न ती १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये ४ पुरुष र १२ महिला रहेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गाउँपालिका–२ का बासिन्दा काठमाडौंमा होटल संचालक ३३ वर्षीय विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं महानगरपालिका–९ शम्भुमार्गका राजकुमार गौतम रहेका छन्। महिलाहरुमा पेमा लामा, अञ्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमलामाया लामा, फुर्वामाया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमादेवी गुरुङ र प्रिया तामाङ रहेका छन्।
प्रहरी अनुसन्धानका क्रममा प्राप्त विवरण अनुसार उक्त गिरोहले फेसबुक, वाट्सएपजस्ता माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाएर ग्राहकसँग मोलमोलाई गर्ने, सेटिङ मिलाउने र ट्याक्सी वा निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रमा पर्ने शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा लगेर यौनजन्य गतिविधि गराएको खुलेको छ।




