Skip to main content

आईपीएल आगामी सिजन केही छिटो सुरु हुने सम्भावना

भारतीय क्रिकेट नियन्त्रण बोर्डले अत्यधिक गर्मी र वर्षाका कारण आगामी सिजनदेखि आईपीएल केही छिटो सुरु गर्ने विषयमा छलफल गरिरहेको छ। सचिव देवजित सकियाका अनुसार आगामी संस्करणका लागि १० मार्चदेखि १५ मे सम्मको अवधिलाई सम्भावित समयका रूपमा प्रस्ताव गरिएको छ। मे १५ पछिको मौसम खेलाडी र दर्शक दुवैका लागि चुनौतीपूर्ण हुने भएकाले यस्तो तयारी गरिएको हो।

४ असार, काठमाडौं। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आगामी सिजनदेखि इंडियन प्रीमियर लीग (आईपीएल) निर्धारित समयभन्दा केही चाँडो सुरु गर्ने सम्भावनाबारे छलफल गरिरहेको जनाएको छ। बीसीसीआईका सचिव देवजित सकियाले खेलाडी र दर्शकले अत्यधिक गर्मीको सामना गर्नुपरेको तथा मे महिनाको दोस्रो भागमा प्रि-मनसुन वर्षाले खेलमा प्रभाव पार्न सक्ने भएकाले प्रतियोगिता चाँडै सुरु गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।

सकियाले पीटीआईसँग कुरा गर्दै यस वर्ष मार्च २८ बाट सुरु भएको आईपीएल मे ३१ मा सकिएको स्मरण गराउँदै मे १५ पछिको समय वर्षा र मौसमका कारण चुनौतीपूर्ण हुने बताए। ‘मे १५ पछि प्रि-मनसुन सुरु हुने र वर्षाको सम्भावना रहने चिन्ता छ। अर्कोतर्फ, अत्यधिक गर्मी खेलाडी र दर्शक दुवैका लागि अनुकूल छैन,’ उनले भने।

उनका अनुसार बीसीसीआई र आईपीएल गभर्निङ काउन्सिलबीच प्रतियोगितालाई मार्चको अन्तिम साताभन्दा अघि सुरु गर्ने विषयमा छलफल भइरहेको छ। सकियाले आगामी संस्करणका लागि मार्च १० देखि मे १५ सम्मको समयावधिलाई सम्भावित विन्डोका रूपमा हेरिएको संकेत दिएका छन्। यदि यो प्रस्ताव कार्यान्वयनमा आएमा आगामी सिजनदेखि आईपीएल हालको भन्दा करिब दुई हप्ता अगावै सुरु हुने सम्भावना रहनेछ।