११ असार, काठमाडौं । भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा दुई शक्तिशाली भूकम्पले व्यापक मानवीय र भौतिक क्षति पुर्याएको अनुमान गरिएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अहिलेसम्म ३२ जनाको मृत्यु र ७०० जना घाइते भएको पुष्टि गरेकी छन्। खोज तथा उद्धार कार्य जारी रहँदै गर्दा मृत्यु र घाइतेको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढीको मृत्यु हुने सम्भावना ३० प्रतिशत भएको अनुमान गरेको थियो।
राजधानी क्षेत्रमा उद्धारकर्मीहरूले भग्नावशेषभित्र दबिएका जीवितहरूलाई खोजी गरिरहेका छन्। कतिपय मानिसहरू भग्नावशेष मुनिबाट सहायताका लागि पुकार गरिरहेका छन्, जुन बीबीसीले सूचनामा उल्लेख गरेको छ। राजधानी कराकासका धेरै भवनहरूमा विद्युत आपूर्ति रोकेको छ भने मेट्रो सेवा पूर्ण रूपमा बन्द गरिएको छ। ७.२ र ७.५ म्याग्निच्युडका ती भूकम्पहरू राजधानीको पश्चिम क्षेत्रमा केन्द्रित थिए। यसको धक्का छिमेकी देश कोलम्बियाको बोगोटासम्म महसुस गरिएको थियो। भूकम्प स्थानीय समय अनुसार साँझ ६:०४ बजेको थियो र नेपाली समय अनुसार बिहीबार बिहान ३:४९ बजेको समयमा आएको थियो। उक्त समयमा भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिसहरू घरमै रहेका थिए।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका भेनेजुएलालाई तत्काल खोज तथा उद्धार टोली, चिकित्सकीय स्रोतसाधन र मानवीय सहायता पठाउदै आएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘जसले आफ्ना प्रियजन गुमाएका छन्, घाइते भएका छन् र उद्धार कार्यमा अथक रूपमा खटिएका साहसी उद्धारकर्मीहरूप्रति हाम्रो समवेदना छ।’ अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार अमेरिकी टोली भेनेजुएली अधिकारीहरूसँग सम्पर्कमा रहेर आवश्यक सहायता परिचालन गरिरहेका छन्।
