नेपाल टेलिकमले आफ्नै सफ्टवेयर विकास अभियान शुरू गर्दै, ‘भाइब कोडिङ’ प्रविधिमा जोड
११ असार, काठमाडौं । सरकारले ९० प्रतिशत स्वामित्व राख्ने राष्ट्रिय दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफूलाई आधुनिक, डिजिटल र ग्राहक-केंद्रित बनाउन आवश्यक सफ्टवेयरहरू आफैं विकास गर्न थालेको छ। पहिले कम्पनीले यस्ता सफ्टवेयरहरू बाह्य स्रोतबाट ल्याउँदै आएको थियो, तर अब आफ्नै प्राविधिक जनशक्ति परिचालन गरी विभिन्न आन्तरिक (इन-हाउस) सफ्टवेयर प्रणालीहरू विकास र कार्यान्वयनलाई प्राथमिकता दिएको छ, कम्पनीका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।
आफ्ना आन्तरिक कार्यप्रणालीहरू स्वचालित, पारदर्शी र जवाफदेही बनाउन शुरू गरिएको यस प्रयासले कम्पनीको सुशासन र सेवा प्रवाहमा ठूलो सुधार ल्याउने विश्वास गरिएको छ। जस्तै, टेलिकमले केन्द्रीय कार्यालयदेखि क्षेत्रीय निर्देशनालय र मातहतका सबै कार्यालयहरूमा ‘प्रोक्योरमेन्ट म्यानेजमेन्ट सिस्टम’ अर्थात् खरिद व्यवस्थापन प्रणाली लागू गरेको छ। नेपालको सार्वजनिक खरिद ऐनका प्रावधान र व्यावहारिक आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको यो सफ्टवेयरले खरिद प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ, प्रवक्ता लामिछानेले बताए।
खरिद योजना निर्माणदेखि बोलपत्र आह्वान, सम्झौता र अनुगमनसमेत सबै प्रक्रिया डिजिटल माध्यमबाट गरिने भएकाले प्रशासनिक ढिलाइ कम हुनेछ र यसले समयको बचत हुनेछ भनी कम्पनीले जनाएको छ। साथै, देशभर रहेका टेलिकम कार्यालयहरूको मर्मत–सम्भार व्यवस्थापनका लागि ‘ड्युटी चार्ट म्यानेजमेन्ट सिस्टम’ नामक नयाँ सफ्टवेयर पनि विकास गरिएको छ। यसले कुन कार्यालयमा कुन प्राविधिक कस्तो शिफ्टमा काम गर्दैछन् र उनीहरूको जिम्मेवारी के छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सहज बनाउँछ। विशेष गरेर दूरसञ्चार सेवामा अवरोध आउँदा ड्युटिमा रहेका कर्मचारीलाई सिधै सम्पर्क गर्न फोन नम्बर सहित आवश्यक विवरण उपलब्ध गराइएकोले समस्या छिटो समाधान हुने प्रवक्ता लामिछानेले बताए।
