Skip to main content

सप्तरीको बलान बिहुलबाट दुई राउन्ड गोलीसहित दुई युवक पक्राउ

१२ असार, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीय सुभाष कुमार पासमान र सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन्।

बिहीबार दिउँसो ४ बजेतिर बलान बिहुल गाउँपालिका वडा नम्बर–३ स्थित टिकुलिया–बेल्ही सडक खण्डमा बाँसको टहरा (मचान) माथि शंकास्पद अवस्थामा बसिरहेका उनीहरूको शरीर खानतलासी गर्दा पासमानको साथबाट ८ एमएम लेखिएको २ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

प्रहरीले पक्राउ परेकाहरूलाई खरखजाना सम्बन्धी मुद्दामा अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको बताएका छन्।