Skip to main content

सुँगुरको निधनपछि स्नेहा श्रेष्ठद्वारा गरियो सम्मानजनक दाह संस्कार

कुकुर, बिराला, घोडा जस्ता जनावरहरूको निधनपछि सम्मानपूर्वक दाह संस्कार हुने समाचार हामीले सुनिरहेका छौं। तर सम्भवत: नेपालमा पहिलो पटक सुँगुरको निधनपछि सम्मानजनक दाह संस्कार गरिएको छ। काठमाडौंमा बस्ने शाकाहारी र पशु अधिकारकर्मी स्नेहा श्रेष्ठले यो कार्य गरेका हुन्। उनले आफूले पालेको कार्लोट नामक सुँगुरको निधनपछि आइतबार दाह संस्कार गरेकी छन्। स्नेहाले सुँगुरलाई कहिल्यै जनावरको रूपमा नभई आफूमाथि बच्चा जस्तो भएकाले प्रेम गरिन्। उनले सुँगुरलाई छोरीसँग तुलना गर्दै आफू उसको आमा भएको भावना व्यक्त गरेकी छन्।

स्नेहाले यो सुँगुरलाई २०१९ मा एउटा फार्मबाट बचाएर ल्याएकी थिइन्। उनका अनुसार त्यो दिन जीवनकै सबैभन्दा खुसीका दिनहरूमध्ये एक थियो। तर आइतबार कार्लोटको मृत्युले उनलाई संसार अन्धकारमय भएको अनुभूति भएको छ। उनले सामाजिक सञ्जालमा कार्लोटको मृत्युसँग जोडिएका आफ्ना भावनाहरू यसरी व्यक्त गरेकी छन्: ‘मैले कार्लोटलाई ७ वर्षसम्म पालेँ। हरेक बिहान उठेर कार्लोटलाई हेर्ने बानी भएको थियो मलाई। तर आज त्यो ठाउँ खाली भइसकेको छ र त्योले मेरो मन चिराएको छ। धेरैले मलाई गाली गरे—सुँगुर किन पाल्छौ? केहीले यो जात फोहोर जनावर हो, हिलोमै बस्ने भनेर तिरस्कार गरे। तर मेरा लागि त्यो एउटा मात्र जात थियो—मायाको जात। माया गर्न जात, रंग, रूप वा नामले कुनै फरक पार्दैनन्। आज तिम्रो सम्झनामा आँसु बगाउँदै लेख्दा धेरैले हास्छन्, कसैले यति रोएको भनेर टिप्पणी गर्नेछन्। तर मलाई त्यसले कुनै असर गर्दैन,’ उनले लेखेकी छिन्।

कार्लोट उनीका लागि परिवार जस्तो थियो, जसले आफूलाई निःस्वार्थ माया गरेको उनले भनिन्। ‘मसँग तिम्रा हजारौं सम्झना छन्, तिम्रा फोटोहरू छन्, तिम्रो माया र प्रश्रयले भरिएको ७ वर्षको अमूल्य समय छ। तर ती सबै यादहरूले आज मलाई अझ धेरै रुवाइरहेका छन्,’ उनले थपिन्। स्नेहाले अर्को जन्ममा कार्लोट फेरि आफ्नो परिवारमा फर्केर आउने अनुरोध समेत गरेकी छन्।