बुधबार राति सम्पन्न खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई २-१ ले पराजित गरेपछि मेक्सिकोले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ। १८ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिकोले अन्तिम १६ चरणमा इङ्ल्यान्डसँग भिड्ने भएको छ। इङ्ल्यान्डले डिआर कंगोलाई हराएपछि मेक्सिकोले आफ्नो प्रतिद्वन्द्वी तय गरेको हो।
अहिलेसम्म चार खेलहरुमा शतप्रतिशत जित र क्लिनसिट कायम गरेको मेक्सिको र उतारचढाव भरेको प्रदर्शन गरेको इङ्ल्यान्डबीचको खेल अत्यन्त रोचक हुने अनुमान गरिएको छ। उक्त खेल मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा हुनेछ। यसअघि घरेलु मैदानमा मेक्सिकोले चारै खेल जितेको छ। राउण्ड अफ ३२ को पछिल्लो खेलमा मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।
अन्तिम १६ मा इङ्ल्यान्डसँगको खेल मेक्सिकोको घरेलु मैदानमा खेलिने अन्तिम खेल हुनेछ। यस खेलमा जित हात पार्ने मेक्सिकोले हार्ड रक स्टेडियममा ब्राजिल र नर्वेबीचको विजेता टोलीसँग खेल्नेछ। मेक्सिकोले समूह चरणमा पहिलो खेलमा दक्षिण अफ्रिकालाई २-० ले हरायो, दोस्रो खेलमा दक्षिण कोरियालाई १-० ले हरायो, र तेस्रो खेलमा चेक रिपब्लिकलाई ३-० ले पराजित गरेको थियो। अहिलेसम्म मेक्सिकोले ८ गोल गरेको छ र कुनै गोल बेहोरेको छैन।
अर्कोतर्फ, इङ्ल्यान्डले समूह चरणमा क्रोएसियालाई ४-२ ले हराउँदै विश्वकपको सुरुवात गरेको थियो। त्यसपछि घानासँग गोलरहित बराबरी खेलेको टोलीले समूहको अन्तिम खेलमा पानामालाई २-० ले हरायो। फिफा वरियतामा चौथो स्थानमा रहेको इङ्ल्यान्डले राउण्ड अफ ३२ मा तुलनात्मक रूपमा कमजोर डिआर कंगो टोलीविरुद्ध प्रतिस्पर्धा गर्यो। कंगोविरुद्ध सातौं मिनेटमै पछि परेको इङ्ल्यान्डले पुनरागमन गर्दै २-१ को जित हात पारेको छ। दुवै गोल कप्तान ह्यारी केनले गरे।
