को कति कमाउँछन्? – २०२६ का शीर्ष १० कन्टेन्ट क्रिएटर्सको आम्दानीको विस्तृत विवरण
१९ असार, काठमाडौं । कन्टेन्ट सिर्जना अहिले कुनै सामान्य शौक वा समय बिताउने माध्यम मात्र होइन, यो आज अर्बौं डलरको व्यवसाय बनिसकेको छ जसले हलिउडलाई समेत प्रतिस्पर्धा दिएको छ। हालै फोर्ब्सले प्रकाशित गरेको टप क्रिएटर्स २०२६ को सूचीले यस तथ्यलाई पुष्टि गरेको छ। फोर्ब्सले यस सूची तयार गर्दा क्रिएटर्सको कुल आय, फलोअर संख्या, सहभागिता दर र व्यापारिक उद्यमशीलतामा आधारित र्याङ्किङ गर्दछ, जसले गर्दा कम आय भएका तर उच्च प्रभाव भएका व्यक्तिहरू पनि उच्च स्थानमा आउँछन्। अमेरिकाको लस एन्जलसमा हलिउड चलचित्र उद्योगमा कार्यरत जनसंख्या ऐतिहासिक रूपमा घटिरहेको छ, भने अर्कोतिर क्रिएटर्सहरूले बक्स अफिसमा हलिउडलाई पछाडि पार्दैछन्। उदाहरणका लागि, केन पार्सन्सको हरर वेब सिरिजमा आधारित फिल्म ‘ब्याकरुम्स’ केवल १० मिलियन डलर लागतमा बनेर २६० मिलियन डलरभन्दा बढी कमाउन सफल भयो। त्यस्तै, ७ लाख ५० हजार डलर बजेटमा बनेको ‘अब्सेसन’ ले २९० मिलियन डलरभन्दा बढी आम्दानी गर्यो। फोर्ब्सको पाँच वर्षे इतिहासमा पहिलो पटक शीर्ष ५० क्रिएटर्सको कुल आम्दानी १ अर्ब डलर नाघेर १.०२ अर्ब डलर (लगभग १ खर्ब ३६ अर्ब नेपाली रुपैयाँ) पुगेको छ, जुन गत वर्षको ८५३ मिलियन डलरको तुलनामा २० प्रतिशतले बढी हो।
अब यस सूचिमा रहेकाहरू मध्ये शीर्ष १० कन्टेन्ट क्रिएटर्स को हुन्, उनीहरूले के कस्तो कन्टेन्ट बनाउँछन् र कति आम्दानी गर्छन्, त्यसबारे जानकारी गरौं :
१. मिस्टर बिस्ट (जिमी डोनाल्डसन) लगातार पाँचौं वर्ष फोर्ब्सको सूचीमा नम्बर १ स्थान ओगट्न सफल मिस्टर बिस्ट युट्युबकै सबैभन्दा ठूलो ताराका रूपमा परिचित छन्। उनी ठूला र खर्चिला स्टन्ट, चुनौतीहरू र विशाल परोपकारी कार्यहरूका लागि चर्चित छन्। युट्युब स्टन्टहरूलाई ग्लोबल प्रोडक्सन स्टुडियोमा परिणत गरेका जिमी युट्युबका राजा हुन्। उनका विभिन्न च्यानलहरूमा ६४ करोडभन्दा बढी सस्क्राइबर रहेका छन् र प्रत्येक वर्ष ५ अर्बभन्दा बढी भ्युज आउँछन्। उनी आज युट्युबर मात्र नभई सम्पूर्ण मिडिया साम्राज्य चलाउँछन्। उनको आम्दानी युट्युब विज्ञापन, प्रायोजन, आफ्नै स्न्याक ब्रान्ड (फिस्टेबल्स), लञ्च्ली, र अमेजन प्राइममा उपलब्ध ‘बिस्ट गेम्स’ लगायतका ठूला प्रोजेक्टहरूबाट हुन्छ। फेब्रुअरी २०२६ मा उनले किशोर-किशोरीलाई लगानी र सम्पत्ति व्यवस्थापन सिकाउने एप ‘स्टेप’ खरिद गरेर व्यक्तिगत वित्त क्षेत्रमा पहिलो कदम चालेका छन्। अनुमानित आम्दानी: ३०० मिलियन डलर (लगभग ४० अर्ब नेपाली रुपैयाँ) फलोअर्स: ८७३ मिलियन
२. धर मान भारतीय मूलका धर मान एक कथा कथावाचक हुन् जो प्रेरणादायी र जीवनोपयोगी छोटा फिल्महरू बनाउँछन्। उनी ‘धर मान स्टुडियोज’ का संस्थापक हुन्, जसमा २०० भन्दा बढी कर्मचारी गण कार्यरत छन्। उनका भिडियोहरू १३ भाषामा अनुवाद गरिन्छ र साप्ताहिक रूपमा करिब ३० करोड भ्युज प्राप्त गर्दछन्। उनको मुख्य आम्दानी युट्युब विज्ञापनका साथै एडोबी, एनएफएल जस्ता ब्रान्डहरूसँगको कर्पोरेट साझेदारी र टेलिभिजन नेटवर्कबाट आउँछ। फक्स इन्टरटेनमेन्टसँग १८ महिनाभित्र ४० वटा भर्टिकल ड्रामा बनाउने सम्झौता गरेका छन्। अनुमानित आम्दानी: ६५ मिलियन डलर फलोअर्स: १७१ मिलियन
३. स्टिभन बार्टलेट स्टिभन एक सफल उद्यमी छन् र चर्चित पोडकास्ट ‘द डायरी अफ अ सीईओ’ का सञ्चालक पनि हुन्। उनले आफ्नो भान्साबाट सुरु गरेको अन्तर्वार्ता कार्यक्रम अहिले ४२५ मिलियन डलर मूल्यको कम्पनी ‘Steven.com’ मा परिणत भएको छ। स्टिभन CEO, वैज्ञानिक, खेलाडी र चर्चित व्यक्तित्वहरूसँग लामो तथा गहिरा अन्तर्वार्ताहरू गर्छन्। उनको अडियो र भिडियो पोडकास्ट विश्वभर अत्यन्त लोकप्रिय छ। विज्ञापन, प्रायोजन र पोडकास्टलाई ठूलो मिडिया व्यवसायमा रूपान्तरण गरेर आम्दानी गरिरहेका छन्। ‘ड्र्यागन्स डेन’ को छैटौँ सिजनमा उनी लगानीकर्ता (जज) को रूपमा पनि फर्किसकेका छन्। अनुमानित आम्दानी: ५२ मिलियन डलर फलोअर्स: ३८.७ मिलियन
४. मार्किप्लायर (मार्क फिसब्याक) एक दशकभन्दा बढी समयदेखि गेमिङ युट्युबमा उच्च स्थानमा रहेका मार्क अहिले स्वतन्त्र फिल्म निर्माण र हरर फिल्महरू निर्माणमा व्यस्त छन्। उनी कन्टेन्ट र हलिउडलाई जोड्ने काममा लागि परेका छन्। गेमिङ भिडियोहरू, ब्रान्ड सम्झौता, पोडकास्ट, मर्चेन्डाइज बिक्री र आफ्नै फिल्म निर्माण मार्फत उनी आम्दानी गर्छन्। उनले आफ्नै लगानीमा बनेको फिचर फिल्म ‘आइरन लङ’ उत्तर अमेरिकाका ३,००० हलहरूमा रिलिज भयो र बक्स अफिसमा ५० मिलियन डलरको आम्दानी गर्यो। उनी र हलले बराबर ५०/५० प्रतिशत शेयर लिए। अनुमानित आम्दानी: ३८ मिलियन डलर फलोअर्स: ७६.८ मिलियन
५. रेट र लिङ्क रेट र लिङ्क एक कमेडी जोडी हुन्, जो सन् २०१२ देखि दैनिक युट्युब शो ‘गुड मिथिकल मर्निङ’ संचालन गर्दै आएका छन्। वार्षिक रूपमा २४० एपिसोडहरू उत्पादन हुन्छन्। उनीहरूको करिब २ करोड दर्शक छन्। उनीहरूले आफ्नै ‘मिथिकल इन्टरटेनमेन्ट’ नामक स्टुडियो नेटवर्क स्थापना गरेका छन्। दैनिक भिडियोहरू, विभिन्न ब्रान्डहरूसँग सहकार्य र प्रोडक्सन कम्पनी मार्फत यो सम्पत्ति बढाएका छन्। अनुमानित आम्दानी: ३७ मिलियन डलर फलोअर्स: ४५.६ मिलियन
६. चार्ली डामेलियो टिकटकमा डान्स भिडियोहरुबाट भाइरल भएकी चार्ली आज एक मनोरन्जनकर्ता र फेसन पर्सनालिटी हुन्। उनी प्राडाकी ब्रान्डकी एम्बेसडर पनि हुन्। अन्य शीर्ष क्रिएटर्सको तुलनामा कम आम्दानी भए पनि प्रभावका कारण उनी छैटौँ स्थानमा छन्। उनले ठूला फेसन ब्रान्डसँग सम्झौता, आफ्नै फेसन लाइन र विभिन्न मनोरञ्जन प्रोजेक्टहरूबाट आम्दानी गर्छिन्। ब्रॉडवेपछि पुनः चर्चित डान्स भिडियोहरू र युट्युब भ्लगहरूमा फर्किएकी छन्। अनुमानित आम्दानी: १८ मिलियन डलर फलोअर्स: २०९.८ मिलियन
७. ड्रस्की (ड्रिउ डेसबोर्डेस) एक चर्चित स्केच कमेडियन हुन्, जसले अनस्क्रिप्टेड कमेडी र ‘कुडा बिन रेकर्ड्स’ नामक काल्पनिक रेकर्ड लेबलका लागि भाइरल भएका छन्। उनले इन्टरनेटको भाइरल कमेडीलाई कर्पोरेट भेन्चरमा परिणत गरेका छन्। ब्रान्ड सम्झौता, अभिनय र लाइभ शोबाट आम्दानी गर्छन्। हलिउडका सिताराहरू (जस्तै केभिन हार्ट, टिमोथी चालमेट) सङ्गको सहकार्य र होस्टिङबाट आम्दानी हुन्छ। यसै जुन महिनामा उनले प्रतिष्ठित ‘BET Awards’ को होस्टिङ समेत गरेका थिए। अनुमानित आम्दानी: २० मिलियन डलर फलोअर्स: ३८.५ मिलियन
८. आई सो स्पीड (ड्यारेन जेसन वाटकिन्स जूनियर) स्पीड एक लाइभ स्ट्रिमिङ सेन्सेसन हुन्, जो गेमिङ र फुटबलसँग सम्बन्धित कन्टेन्ट (विशेष गरेर क्रिस्टियानो रोनाल्डोको फ्यानको रूपमा) बनाएर विश्वव्यापी चर्चित भए। उनको आम्दानी एकदुई सम्झौता मात्र होइन, युट्युब विज्ञापन, लाइभ स्ट्रिमको विशाल डोनेसन र विश्वभर हुने टुर्स (जस्तै २०२६ को वर्ल्ड कप समयमा स्ट्रिमिङ) बाट करोडौँ डलरमा छ। अनुमानित आम्दानी: ३० मिलियन डलर फलोअर्स: १८४ मिलियन
९. मार्क रोबर नासाका पूर्व इन्जिनियर मार्क रोबर अहिले विज्ञान र इन्जिनियरिङलाई रमाइलो तरिकाले सिकाउने भिडियोहरू बनाउँछन्। उनलाई सामाजिक मिडियामा ‘म्याड साइन्टिस्ट’ भनेर चिनिन्छ। युट्युबका भाइरल भिडियोहरू, प्रायोजन र बालबालिकाका लागि लक्षित शैक्षिक इन्जिनियरिङ किट बिक्रीबाट उनी उच्च आम्दानी गर्छन्। रिभियन, गुगल र डिज्नी जस्ता ब्रान्डहरू उनको शैक्षिक कन्टेन्टमा आकर्षित छन्। उनको कम्पनी ‘CrunchLabs’ साइन्स किटहरू बेच्दछ। यस वसन्तमा उनले अमेरिकाको STEM शिक्षा प्रणालीलाई उर्जावान बनाउने योजनाबारे TED टक दिएका थिए। अनुमानित आम्दानी: ३० मिलियन डलर फलोअर्स: ९०.७ मिलियन
१०. कोडी सान्चेज पूर्व पत्रकार कोडी सान्चेज अहिले साना व्यवसाय खरिद, लगानी र वित्तीय शिक्षा दिने कन्टेन्ट बनाउँछिन्। उनले फाइनान्सियल आर्किटेक्चर, साना व्यवसायमा लगानी, न्यूजलेटर सञ्चालन र वित्तीय शिक्षाका विभिन्न कोर्स र परामर्शबाट आफ्नो साम्राज्य विस्तार गरेकी छन्। साना व्यवसायका टिप्स, लगानी सम्बन्धी कोर्स र परामर्शमार्फत तिनी टिकटक, इन्स्टाग्राम र युट्युबमा करोडौं फलोअरबाट पर्याप्त आम्दानी गरिरहन्छिन्। अनुमानित आम्दानी: ३१ मिलियन डलर फलोअर्स: १० मिलियन
