अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालका तीन विद्यार्थीहरूले पदक जित्दै शानदार सफलता

चीनको शाङ्घाईमा सम्पन्न ६७ औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ) मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नयाँ इतिहास रचेको छ। नेपालले ५७ अंक प्राप्त गरेर आफ्नो पुरानै कीर्तिमान ४६ अंकको सीमा तोडेको छ। प्रतियोगितामा ११७ राष्ट्र सहभागी थिए, जसमा नेपालले ८४ औं स्थान हासिल गर्दै ३३ देशहरूलाई पछि पार्न सफल भएको छ। नेपाली टोलीका प्रसिद्ध थापा, आयाम आचार्य र निसान खत्रीले समान रूपमा अनरेबल मेन्सन पदक प्राप्त गरी नेपालको गौरव बढाएका छन्।
जुलाई १० देखि २० सम्म सञ्चालन गरिएको विश्वकै प्रतिष्ठित गणित प्रतियोगितामा सङ्खुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य र धादिङका निसान खत्रीले अनरेबल मेन्सन पाउँदै नेपालको प्रतिष्ठा थप मजबुत बनाएका छन्। टोलीका अन्य सदस्य वर्दियाका मिसन जोशी, मोरङका युगान्तर कालाखेती र पोखराका अरिज पोख्रेलले पनि उत्कृष्ट प्रदर्शन गरि नेपालको कुल अंक वृद्धि गर्न महत्वपूर्ण भूमिका निभाएका थिए।
म्याथम्याटिकल एसोसिएसन अफ नेपालका अध्यक्ष तथा कन्ट्री लिडर हरि प्रपन्न कँडेलका अनुसार, नेपालले ११७ सहभागी राष्ट्रहरूमा ३३ देशलाई पछि पार्न सफल भएको छ। नेपालले सन् २०१७ मा ब्राजिलमा आयोजित अन्तर्राष्ट्रिय गणित ओलम्पियाडबाट सहभागिता सुरु गरेको थियो र यस वर्षको प्रतियोगिता नेपालको दशौं सहभागिता हो।
कार्यक्रम संयोजक तथा एसोसिएसनका महासचिव छवि ढुङ्गानाले बताए अनुसार, अन्तर्राष्ट्रिय स्तरमा अझ उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीहरूलाई नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण दिने व्यवस्था गर्नुका साथै सरकारी निकायबाट थप सहयोग आवश्यक छ। नेपाली टोली जुलाई २१ मा स्वदेश फर्किएको छ।





