
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–२ सेटको हार व्यापार्दै लगातार चौथो हार भोग्न बाध्य भएको छ। पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो र तेस्रो सेट जितेको भए पनि अन्तिम निर्णायक सेट १५–११ को अन्तरले हार व्यहोर्नुपरेको छ। यसअघि कजाखस्तान, श्रीलंका र पाकिस्तानसँग पराजय व्यहोरेको नेपालले राउन्ड रोबिन लिग अन्तर्गत सोमबार उज्बेकिस्तानसँग अन्तिम खेल खेल्ने तयारीमा छ। १० साउन, काठमाडौं।
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार व्यहोरेको छ। आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ सेटमा पराजित भयो। नेपालले पहिलो सेटलाई २५–१८ को फराकिलो सेटअन्तरले जित्दै उत्कृष्ट सुरुआत गरेको थियो। तर दोस्रो सेटमा २५–१९ ले हार भोग्दै बंगलादेशले खेल बराबरीमा ल्यायो। तेस्रो सेटमा नेपालले पुनः राम्रो प्रदर्शन गर्दै २५–२१ को जीत हात पारेको थियो। त्यसपछि चौथो सेटमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि नेपाल २५–२३ को अन्तरले पराजित भयो र खेल निर्णायक पाँचौं सेटसम्म पुगेको थियो। निर्णायक पाँचौं सेटमा बंगलादेशले १५–११ को स्कोरले जित हासिल गर्दै खेल ३–२ को नतिजासहित आफू पक्षमा पारेको छ। नेपाल यसअघि कजाखस्तान, श्रीलंका र पाकिस्तानसँग पराजय भोगिसकेको छ। नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेल सोमबार उज्बेकिस्तानसँग खेल्नेछ।





