
नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा पार्टी भित्र रहेका विभिन्न पक्षहरूबीच सहमति स्थापना गर्ने निर्णायक प्रयासहरू तीव्र रूपमा अघि बढिरहेको छ भने नेताहरूले जानकारी दिएका छन्। कांग्रेस सभापति गगन थापाले आइतबार आफूलाई भेट्न आएका कांग्रेसका नेता तथा कार्यकर्ताका समूहसँग एकताको प्रयास सहमतिका दिशामा निरन्तर अघि बढेको बताएका छन्। उनले सहमतिको रूपरेखा तयार गर्न कार्यदल गठन गर्ने योजना बनाइसकेको जानकारी गराइसकेका छन्। तर, कांग्रेसका असन्तुष्ट पक्षका नेताहरूले औपचारिक रूपमा त्यस्तो प्रस्ताव प्राप्त नभएको बताउँछन्। कांग्रेस नेता विमलेन्द्र निधिले उक्त प्रस्ताव डा. शेखर कोइरालासम्म पुगेको सुनेको तर विस्तृत जानकारी नभएको बताए। असन्तुष्ट समूहले काठमाण्डूमा साउन २९ गते राष्ट्रिय भेला आह्वान गरेको छ। सहमति नहुँदा नयाँ पार्टी गठन गर्ने संकेत बीपी स्मृति दिवसको दिन नेताहरूले दिएका थिए।
सहमतिको अभावमा जन्मने नयाँ कांग्रेस सम्वन्धी धेरैको चासो केन्द्रित छ। विगतमा गणतन्त्र र धर्मनिरपेक्षताप्रति प्रतिबद्ध नेताहरू नै यस विषयलाई “विचार गर्नुपर्ने” पक्षमा देखिन थालेका छन् जसले धेरैको ध्यान त्यसतर्फ केन्द्रीत गरेको छ। कतिपय विशेषज्ञहरूको अनुसार नयाँ बन्ने पार्टीले २०६३ सालअघिको कांग्रेस जस्तै संवैधानिक राजसंस्था र हिन्दू राज्यको विषयलाई उठाउने रूपमा सक्रिय हुने अनुमान गरिएको छ। नेता प्रकाशशरण महतले वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा विचार प्रस्तुत गर्दै आएका छन्।
“अहिले हाम्रो राष्ट्रियता संकटमा छ। हिन्दू, बौद्ध, किरात राष्ट्रिय पहिचानका हिसाबले विचार उठिरहेको छ र हामीले आन्तरिक रूपमा पनि यो विषयमा छलफल गरिरहेका छौं,” उनले भने, “हामीले राजसंस्थालाई प्राथमिकतामा राखेका छैनौं, यद्यपि त्यस पक्षमा सोच्ने साथीहरू पनि छन्, तर त्यो विषयले कुनै निर्णायक स्वरूप लिएको छैन।” विगतमा पार्टीभित्र हिन्दू राष्ट्रको पक्षमा पहल गर्ने नेता शङ्कर भण्डारी खुलेर राजसंस्थाको पक्षमा उभिएका छन्। उनले भने, “देशलाई विदेशी शक्तिको क्रीडास्थल बन्नबाट जोगाउन र देशको स्वाभिमान कायम राख्न व्यापक राष्ट्रिय एकताको आवश्यकता छ। राष्ट्रिय एकताको आधार राजसंस्था हो र सबै धर्मको सम्मान हुने गरी वैदिक सनातन हिन्दू राष्ट्र एकता र शान्तिको अर्को आधार हो।”





