
सोट्टो नेपालले सीमित गन्तव्यहरूमा मात्र हवाई उडान सञ्चालन हुने भएपछि विदेशी एयरलाइन्सले एकाधिकार जमाएर हवाई भाडा अत्यधिक महँगो बनाएको निष्कर्ष निकालेको छ। अध्यक्ष मानबहादुर शाहीले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोट्टो नेपालले स्थानीय सरकारसँग सहकार्य गर्दै होमस्टे र पदयात्रा जस्ता कार्यक्रम सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा सक्रिय रहेको जानकारी दिएको छ।
२४ साउन, काठमाडौं। सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टो) नेपालले सीमित गन्तव्यहरूमा मात्र उडान भएकोले हवाई भाडा महँगो भएको स्पष्ट पारेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा सोट्टो नेपालले यस विषयमा प्रतिक्रिया व्यक्त गरेको हो। संस्थाका अध्यक्ष मानबहादुर शाहीले नेपालको अन्तर्राष्ट्रिय हवाई कनेक्टिविटी सीमित हुँदा विदेशी एयरलाइन्सले एकाधिकार जमाएको र यसले हवाई भाडा अत्यधिक महँगो हुने अवस्था सिर्जना गरेको बताए।
सोट्टो नेपालले पर्यटन व्यवसायीहरूको पेशागत हित संरक्षण, व्यवसाय प्रवर्द्धन र व्यवसायसँग सम्बन्धित समस्याहरू समाधान गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय, संवाद तथा नीतिगत सहयोग गर्दै आएको बताइएको छ। अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि सोट्टो नेपालले सिंगापुर, मलेसिया, रसिया, फिनल्याण्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया तथा भारतका विभिन्न राज्यहरूमा विभिन्न कार्यक्रममा सहभागिता जनाएको छ। यी कार्यक्रमहरूले नेपालको पर्यटन सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गरी पर्यटक आकर्षित गर्न र पर्यटन आय वृद्धिमा महत्वपूर्ण योगदान पुगेको उनीहरूको भनाइ छ।





