
काठमाडौंका फरक-फरक दुई स्थानबाट स्रोत नखुलेको २४ लाख २ हजार रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाका ईश्वर थापा र काठमाडौंका सुदर्शन खड्कालाई शंकास्पद अवस्थालाई मध्यनजर गर्दै नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूसँगै नगद रकमसहित मोटरसाइकल र स्कुटर बरामद गरी अनुसन्धान अघि बढाइएको छ।
पक्राउ पर्नेहरूमा स्याङ्जा वालिङ नगरपालिका-६ का ४१ वर्षीय ईश्वर थापा र काठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्का रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार, थापाको साथबाट १९ लाख ९४ हजार रुपैयाँ र खड्काको साथबाट ४ लाख ८ हजार रुपैयाँ गरी कुल २४ लाख २ हजार रुपैयाँ बरामद गरिएको छ।
प्रहरी वृत्त दरबामार्गबाट खटिएक टोलीले आइतबार राति केशरमहलतर्फ जाँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटरमा चेकजाँच गर्ने क्रममा थापाको साथबाट उक्त नगद फेला पारेको हो। त्यसैगरी, प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले आइतबार राति काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट खड्काको साथबाट पनि रकम बरामद गरेको छ। सोही क्रममा प्रहरीले बागमती एएए ७७२० नम्बरको मोटरसाइकल पनि जफत गरेको छ। यस घटनामा सम्बन्धित सबै पक्षबाट थप अनुसन्धान भइरहेको छ।





