Skip to main content

बागमती अटो जिमखाना प्रिक्स भदौ १३ को तारिखमा हुँदैछ, विजेताले पाउँछन् एसिया च्याम्पियनशिपमा भाग लिने मौका

बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ १३ गते तारकेश्वरको लोलाङस्थित अक्सफोर्ड ड्राइभिङ ट्रेनिङ सेन्टरमा आयोजना हुँदैछ। विजेताले हङकङ वा भारतमा हुने एसिया अटो-जिमखाना च्याम्पियनशिपमा सहभागी हुने अवसर पाउनेछन्, साथै उत्कृष्ट दुई चालकलाई ७५ हजार रुपैयाँ नगद पुरस्कारसहित सहयोग प्रदान गरिनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रुपैयाँ तोकिएको छ भने दर्ता आगामी शुक्रबारसम्म खुला रहने आयोजकहरूले जानकारी दिएका छन्।

बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा गत वर्षदेखि सुरु भएको यस प्रतियोगिता यसपटक पनि तारकेश्वरको लोलाङस्थित अक्सफोर्ड ड्राइभिङ ट्रेनिङ सेन्टरमा आयोजना हुँदैछ। एक्सट्रिम इनर्जीको मुख्य प्रायोजन र लिक्वी मोली लुब्रिकेन्ट्सको सहयोगमा सञ्चालन हुने प्रिक्सका विजेताले हङकङ वा भारतमा आयोजना हुने एसिया अटो–जिमखाना च्याम्पियनशिप (एएजीसी) मा भाग लिने अवसर पाउनेछन्। उत्कृष्ट दुई चालकलाई एएजीसी आयोजकबाट जम्मा ७५ हजार रुपैयाँ नगद पुरस्कार र एफआईए तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को तर्फबाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइनेछ।

प्रतियोगितामा सहभागि सबै चालकको खेल बीमा गरिनेछ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले रेसिङ सुट र प्राविधिक प्रशिक्षण प्रदान गर्नेछ। ९९९९ रुपैयाँ दर्ता शुल्क राखिएको प्रतियोगितामा जुनसुकै सीसीका कारमार्फत सहभागी हुन सकिन्छ। कम्तीमा १० महिला खेलाडीको दर्ता भए महिलाका लागि छुट्टै स्पर्धा आयोजना गरिने आयोजकहरूले बताएका छन्।

प्रतियोगितामा भाग लिनका लागि चालकले कुनै संघसंस्था वा कर्पोरेट क्षेत्रमा आबद्ध हुनुपर्नेछ। कलात्मक रूपमा डिजाइन गरिएको छोटो ट्र्याकमा हुने जिमखाना स्पीड, प्राविधिक दक्षता र कलात्मक ड्राइभिङको संयोजन गरी खेलाइने यस प्रतियोगितामा चालकको दक्षता, सवारी साधनको अवस्था, नियन्त्रण, अनुशासन र ट्र्याक नेभिगेसन सफलताका आधारमा मूल्यांकन गरिनेछ। नासा नेपालले दक्ष मर्शलको व्यवस्था, समय मापन प्रणाली र सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ। प्रतियोगिता व्यवस्थापनका लागि यदुराज लामिछाने, आशीष रौनियार र अंकित भण्डारी सहितको टोली गठन गरिएको छ जसले प्रतियोगितासँगै यस वर्षका अन्तर्राष्ट्रिय सहभागिताको व्यवस्थापन पनि गर्नेछ।