
समाचार सारांशः वाशिङ्टन डीसीमा तीन दिनसम्म चलेको अमेरिका र क्यानडाबीचको व्यापार सम्झौता वार्ता असफल रह्यो। वार्ता विफल भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मध्यरातदेखि क्यानडाबाट आउने २० अर्ब डलर बराबरको सामानमा ५० प्रतिशत भन्सार लगाएका छन्। प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले जति भन्सार लगाउँछ, क्यानडाले पनि त्यसको जवाफ दिनुपर्ने बताएका छन्। ६ भदौ, काठमाडौं – अमेरिका र क्यानडाबीच तीन दिनसम्म चलेको व्यापार सम्झौता वार्ता निष्फल रह्यो। वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मध्यरातदेखि क्यानडाबाट आयात हुने २० अर्ब डलर बराबरका वस्तुहरूमा ५० प्रतिशत भन्सार लागू गरेका छन्। नयाँ लगाइएको यो भन्सार क्यानडाबाट अमेरिका पठाइने कुल वस्तुको करिब ५ प्रतिशत भागमा लागू हुनेछ। अमेरिका र क्यानडाका अधिकारीहरूले वाशिङ्टनमा तीन दिनसम्म वार्ता गरे पनि सम्झौतामा अन्तिम रूप दिन सकेनन्। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भनेका छन् कि अमेरिकाले जुन भन्सार लगाउँछ, क्यानडाले पनि त्यसको बराबरी जवाफ दिनेछ।
अमेरिकी पक्ष: राम्रो प्रस्ताव दिएका थियौं, क्यानडाले मौका गुमायो
अमेरिकी व्यापार प्रतिनिधिमण्डल (यूएसटीआर)ले सामाजिक सञ्जालमा दुई देशबीच व्यापार सम्झौता नभएको र क्यानडाले महत्वपूर्ण साझेदारी गुमाएको उल्लेख गरेको छ। यूएसटीआरका अनुसार, अमेरिकाले क्यानडालाई कुनै पनि अन्य प्रमुख निर्यातकर्ताभन्दा राम्रो प्रस्ताव दिएको थियो, तर क्यानडाका नयाँ माग र पहिलेका प्रतिबद्धताबाट पछि हटेपछि सम्झौता हुन सकेन। यूएसटीआरले थपे – यदि सम्झौता भएको भए एयरोस्पेस आपूर्ति शृङ्खला समन्वय, गलत व्यापार अभ्यास विरुद्ध आवश्यक कदम चाल्ने, खनिज क्षेत्रमा सहकार्य र अमेरिका-मेक्सिको-क्यानडा सम्झौता (यूएसएमसीए) को घोषणाजस्ता नतिजा आउँथे।
किन यति धेरै भन्सार लाग्यो?
अमेरिकाको दाबी छ कि क्यानडाका केही व्यापार नीतिहरूले अमेरिकी कम्पनीहरूलाई नोक्सान पु¥याइरहेका छन्। दुई देशले अटोमोबाइल, डेरी उत्पादन, मदिरा र काठ व्यापार लगायतका थुप्रै मुद्दामा लामो समयदेखि विवाद गर्दै आएका छन्। अमेरिका नयाँ भन्सार महसुल कात्तिक ३ देखि लागू गर्ने घोषणा गरेको थियो, तर वार्ता सुरु गर्ने निर्णयसँगै ट्रम्पले लागू गर्ने मिति तीन दिन अघि ल्याएका छन्। अमेरिकी अधिकारीहरूले भने कि धेरै विषयमा सहमति भइसकेको थियो, तर महत्वपूर्ण विषयमा दुई देशबीच सहमति हुन सकेन।
१. अमेरिकी कारमाथि भेदभावको आरोप
अमेरिकाले लामो समयदेखि गुनासो गर्दै आएको छ कि क्यानडाको व्यापार नीति अमेरिकी कार कम्पनीलाई क्यानडामा न्यायोचित मौका दिँदैन। अमेरिकाले क्यानडाको बजार अझ खुला चाहन्छ। त्यसका लागि क्यानडाले अमेरिकी स्टिल, एलुमिनियम, कार र काठमा लगाएको भन्सारमा छुट मागेको थियो, तर अमेरिका तयार छैन।
२. क्यानडाको डेरी बजार सुरक्षा
क्यानडाले आफ्नो डेरी बजारलाई विदेशी र सस्ता डेरी उत्पादनबाट बचाउन कडाइका नियमहरू बनाएको छ। अमेरिका क्यानडामा आफ्ना दूध, चीज तथा अन्य डेरी उत्पादन सजिलै बेच्न चाहन्छ, तर क्यानडाले डेरी क्षेत्रमा धेरै छुट दिँदैन। यस विषयमा दुई देशबीच मतभेद छ।
३. अमेरिकी मदिरामा प्रतिबन्ध
क्यानडाका केही क्षेत्रहरूमा अमेरिकी मदिरा बिक्रीमा प्रतिबन्ध छ, जुन अमेरिकाले भेदभावको रूपमा लिन्छ। अमेरिकाले मदिरा सजिलै बेच्न अनुमति मागेको छ। त्यसैगरी, क्यानडाको काठ (सफ्टउड लम्बर) विषयमा पनि लामो समयदेखि विवाद छ। अमेरिका क्यानडाबाट आउने काठमा व्यापार प्रतिबन्ध र भन्सार लगाउँदै आएको छ।
क्यानडाले अमेरिकामाथि जवाफी भन्सार लगायो
अमेरिकाले ५० प्रतिशत भन्सार लगाएपछि क्यानडाले समान रूपले जवाफी भन्सार घोषणा गरेको छ। प्रधानमन्त्री मार्क कार्नीले स्पष्ट पारेका छन् कि अमेरिकाले जे भन्सार लगाउँछ, क्यानडाले पनि त्यसको बराबर अमेरिकाबाट आउने वस्तुमाथि भन्सार लगाउनेछ। यसले दुई देशबीच व्यापार तनाव बढाएको छ। अमेरिका र क्यानडा दुवै ठूला व्यापारिक साझेदार हुन्, जसका कारण भन्सार बढ्दा व्यापार र वस्तु मूल्यमा प्रभाव पर्नेछ। (एजेन्सीहरूको सहयोगमा)





