Skip to main content

सन्दीपले भने- आजको जित बाढीपीडित नेपालीहरूलाई समर्पित

एसीसी प्रिमियर कपमा जितको प्रभावशाली सुरुवात गरेका कप्तान सन्दीप लामिछानेले आफ्नो सफलता देशका बाढीपीडित नेपालीहरूलाई समर्पित गरेका छन्। कठिन परिस्थितिमा रहेका नेपालीहरूलाई प्रार्थनामा समेट्न उनले सामाजिक सञ्जालमार्फत आग्रह गर्दै खेल मैदानमा आफूले शतप्रतिशत प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको उद्धारका लागि सन्दीपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको तलब सहयोग गर्ने र प्रिमियर कपको अवधिभर थप आर्थिक सहायता दिने बताएका छन्।

१५ भदौ, काठमाडौं। एसीसी प्रिमियर कपमा प्रभावशाली सुरुवात गर्ने नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो जित देशका बाढीपीडितहरूलाई समर्पित गर्ने घोषणा गरेका छन्। नेपालले पहिलो खेलमा प्राप्त गरेको प्रभावशाली जितपछि सामाजिक सञ्जालमार्फत उनले सबै नेपालीलाई आफ्नो प्रार्थनामा समावेश हुन आग्रह गरेका छन्। ‘प्रतियोगितामा उत्कृष्ट सुरुवात भयो। यो जित मेरो सुन्दर देश नेपालका ती सबै नागरिकहरूका लागि हो, जो अहिले कठिन अवस्थाबाट गुज्रिरहेका छन्। कृपया नेपाल र नेपालीका लागि प्रार्थना गरिरहनुहोस्,’ उनले भने, ‘हामी मैदानमा आफ्नो शतप्रतिशत दिनेछौं, ताकि देशका मानिसका अनुहारमा थोरै भए पनि खुशी, हौसला र मुस्कान ल्याउन सकियोस्। जय नेपाल!’

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सन्दीपले पहिले नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको तलब सहयोग गर्ने घोषणा गरिसकेका छन्। यसै क्रममा, प्रिमियर कपमा नेपालले प्रहार गर्ने प्रत्येक चौका-छक्का र लिनेसको प्रत्येक विकेटमा थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।