मलेसियामा श्रमिक भर्ना गर्ने २५ कम्पनी छनोटमा लामिछानेको निष्पक्ष छानबिनलाई जोड

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा श्रमिक भर्नाको प्रक्रिया अन्तर्गत २५ वटा संस्थालाई मात्र समावेश गरिएबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ध्यानाकर्षण गराएको छ। संघले ती २५ संस्थाको छनोटमा आधिकारिकता, मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वसनीयताबारे प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। लामिछानेले कुनै पनि अनियमितता वा दोषी पक्ष भेटिए कानुनी कारबाही गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। १८ भदौ, काठमाडौं।
संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा प्रतिनिधिमण्डलले लामिछानेसँग भेट गरी वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्याहरू र नीतिगत सुधारका विषयमा छलफल गरेको छ। बैठकमा मलेसियामा श्रमिक भर्नाको प्रक्रियामा फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (FWCMS) मार्फत मात्र २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था समावेश गरिएको र अरू व्यवसायीलाई यस प्रक्रियाबाट बहिष्कृत गर्न खोजिएको विषय उठाइएको छ।
संघले ती २५ संस्था छनोटमा आधिकारिकता, मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वासिलोपनका प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। छलफलका क्रममा लामिछानेले यस विषयमा छानबिन गरी अनियमितता वा दोषी भेटिए कानुनी कारबाही अघि बढाउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघले वैदेशिक रोजगार क्षेत्रमा सीमित समूहको एकाधिकार र अस्वस्थ प्रतिस्पर्धाले श्रमिक, व्यवसायी र नेपाल–मलेसिया श्रम सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ।





