
२०औं एशियाई खेलकुद अन्तर्गत महिला कबड्डीको दोस्रो खेलमा नेपाल चीनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको छ। जापानको टोकाई सिटिजन जिम्नेसियममा बुधबार दिउँसो सम्पन्न खेलमा पहिलो हाफ बराबरीमा १३-१३ को स्कोरमा सकिएको थियो। दोस्रो हाफमा नेपालले कमजोर प्रदर्शन गर्दै खेल २४-५ को डिफेन्स दिने क्रममा ३७-१८ ले हार ब्यहोर्नुपरेको छ।
नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो भने चीनिज ताइपेइसँग श्रीलंकाले हार भोगेको थियो। आठ टोली सहभागी रहेको कबड्डीका समूहहरूमा चार-चार राष्ट्र रहेका छन्। नेपाल रहेको समूहमा थाइल्याण्ड, श्रीलंका र चीनिज ताइपेइ रहेका छन्। नेपालले अब समूह चरणको अन्तिम खेल बिहीबार श्रीलंकासँग खेल्नेछ। त्यसपछि सेमिफाइनल पुग्ने वा नपुग्ने विषयमा टुङ्गो लाग्नेछ।





