
१६ असोज, काठमाडौं । पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित भएको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार सम्पन्न आफ्नो चौथो अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो। यससँगै भुटान सबै अभ्यास खेलमा पराजित हुन पुगेको छ। क्यान–११ द्वारा निर्धारित १७७ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ३ बलमा ७२ रनमै अलआउट भयो।
भुटानलाई कम स्कोरमा रोक्न क्यान–११ का विपिन शर्मा एक्लैले ५ विकेट लिए। उनले ४ ओभरमा ७ रन खर्चेर ५ विकेट हात पार्न सफल भए। आकाश चन्दले २, रसिद खान, प्रकाश जैशी तथा कप्तान विपिन खत्रीले समान एक-एक विकेट लिए। ब्याटिङतर्फ भुटानका सोनाम चोपेल, टाशी फुन्त्शो र आनंद दोर्जीले समान १५ रन बनाए। नाम्गे थिन्लेले १३, रञ्जुङ मिक्यो दोर्जीले १ र छिरिङ टाशीले ६ रन बनाएर आउट हुँदा, सोनाम येशे २ रनमै अविजित रहे।
तेञ्जिन राब्गे, नाम्गाङ चोजय, गकुल कुमार घाले र कर्मा दोर्जीले कुनै रन जोड्न सकेनन्। यसअघि टस हारेर पहिला ब्याटिङ थालेको क्यान–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो। क्यान–११ का लागि ओपनर तृतराज दासले अर्धशतक पूरा गरे। उनले ३१ बलमा ५१ रन बनाए। मयन यादव २६, वंश क्षेत्री ४, सिब्रिन श्रेष्ठ १९, रसिद खान २४ र प्रकाश जैशी ४ रनमा आउट भए भने कप्तान विपिन खत्री ३८ र युवराज खत्री १ रनमै अविजित रहे।
दीपक कुमार डुम्रेले कुनै रन जोड्न सकेनन्। बलिङतर्फ भुटानका आनंदले ३, गकुलले २, सोनाम येशे र नाम्गे थिन्लेले एक-एक विकेट लिए। अब भुटान अक्टोबर ५ बाट सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया उप-क्षेत्रीय छनोट ‘ए’ खेल्न मलेसिया जानेछ।





